सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको २४ दिनसम्म देशभरि ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाई गरेको छ। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पछिल्लो शनिबारसम्मको कमाइको विवरण सार्वजनिक गरेको हो।
फिल्मले शनिबार १ करोड ८० लाख, शुक्रबार ९० लाख र विहिबार ९६ लाख ग्रस कलेक्सन गरेको छ। प्रदर्शनको २१ दिनसम्म फिल्मको कुल कमाइ ३९ करोड ७४ लाख पुगेको थियो।
चौथो सातामा पनि फिल्मले आकर्षक कमाइ जारी राखेको छ। यद्यपि अकुपेन्सी र शोमा केही गिरावट देखिए पनि विजय बराल स्टारर यो फिल्म घरेलु बक्स अफिसको शीर्ष स्थानमा बनेको छ। काठमाडौं, पोखरा, चितवन लगायतका प्रमुख सहरका केही मल्टिप्लेक्समा अझै शतप्रतिशत अकुपेन्सी देखिन्छ।
शुक्रबार नयाँ फिल्मको प्रदर्शन अपेक्षानुसार कमजोर देखिएकाले ‘पूर्णबहादुरको सारंगी’लाई यसको फाइदा पुग्ने अनुमान गरिएको छ। फिल्मको बलियो ‘वर्ड अफ माउथ’ अझै कायम रहेको र आगामी दिनमा पनि अकुपेन्सी राम्रो रहने वितरक मनोज राठी बताउँछन्।
‘पूर्णबहादुरको सारंगी’लाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो।