सुनकोशी गाउँपालिकाद्वारा आयोजित “लैङ्गिक हिंसा तथा सामाजिक कुप्रथा अन्त्य सम्बन्धी सचेतनामूलक गायन प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ। १६ दिने अभियानको अवसरमा आयोजित यस प्रतियोगितामा २ नम्बर वडाको नवज्योती समूहकाले प्रथम स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ पुरस्कार जितेका छन्। जनकल्याण समूहका महिलाहरू दोस्रो स्थानमा रहँदै नगद ८ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए भने सुमित्रा दर्लामीले तेस्रो स्थान हात पार्दै ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। प्रतिभा समूहका महिलाहरूले सान्त्वना स्थान प्राप्त गर्दै नगद ४ हजार रुपैयाँ पुरस्कार जिते।
सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले गीत-संगीतको माध्यमबाट सहजै लैङ्गिक हिंसा र सामाजिक कुप्रथाको अन्त्य गर्न समाजमा सन्देश दिन सकिने भएकाले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले यस प्रतियोगिताले महिलाहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्न थप योगदान पु¥याएको समेत बताउनुभयो।
गाउँपालिकाले हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा समुदायमा लैङ्गिक हिंसा र सामाजिक कुप्रथाका बारेमा सचेतना फैलाउने उद्देश्यले सातै वडामा गायन प्रतियोगिता आयोजना गरेको थियो। वडास्तरीय प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल गरेका समूहहरूले पालिकास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। वडास्तरीय प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहहरूलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोईराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, २ न वडाका वडा अधक्ष्य जिबन बुर्जा, ४ न वडा अधक्ष्य यम बहादुर जर्घा मगर, ५ न वडा अधक्ष्य सुरथ कुमार बसेल , राजनीतिक दलका प्रतिनिधिहरू, र स्थानीय नागरिकहरूको उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाएको थियो। गाउँपालिकाले यस प्रकारका गतिविधिहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ।