कर्मचारी, ‘तपाईंहरू को को आउनुभएको हो?’
‘ममी, भाउजू अनि म। हामी तीनजना छौँ,’ मैले जवाफ दिएँ।
‘ए उसो भए यहाँ बस्दै गर्नु, म्याम आउँदै हुनुहुन्छ बढीमा एक घण्टा लाग्ला,’ बस्ने बेन्ची देखाएर हातमा फाइल लिएका ती कर्मचारी कार्यालयबाट बाहिर निस्किए।
शरीर थर्थराएको थियो, आँखामा केही अपेक्षा, आशा, भरोसा थिए तर देखिएका थिएनन्। कारण- कैयौँ रातको अनिँदो र निरन्तर रुवाइ। घाँटी सुक्खा भएको थियो। श्वास फेर्न पनि निकै सकस भएको थियो। कसैसँग बोल्न सकेकी थिइनँ। दोहोरो संवाद नगरेको महिनौँ पुगेछ, मजाले दिल खोलेर हाँसेको पनि याद नै छैन। दिनरात भौँतारिरहेकी छु, आँखा एकछिन मिटिक्क भए पनि ऐंठन परेजस्तो हुन्छ। हातमा बोकेको सेतो कागज हेर्नै मन छैन। तर, लडाईंको सहारा त्यही कागज हो।
आमा बेन्चमा बस्दाबस्दै निदाएकी रहिछन्, अप्ठ्यारो गरी। आमाको घाँटी आफ्नो कुममा अलग्ग राखिदिएँ। सानो झिंगा बसेको पनि थाहा पाउने आमा नचल्मलाई मेरो कुममा आड लागेर निदाइन्। आमाको अनुहारमा चिटचिट पसिना आएको थियो। आँखाका कुनामा आँशुका डोब प्रष्टै देखिन्थे। आँखा ओभानो भएको दिन मेरी आमा कस्ती देखिँदी हुन्, दुःखका आँशुबिनाका आमाका आँखा कल्पना गर्छु।
एकटकले आमाको अनुहार नियालेँ। आमाका आँखा राम्रोसँग नहेरेको पनि धेरै भइसकेको रहेछ। दिन प्रतिदिन आमाको उमेर ढल्किएको कुरा उनका अनुहारमा परेका चाउरीले थाहा दिएका थिए। फुंग उडेका सेता कपाल अनि पटपट फुटेका फुस्रा हातखुट्टा, आँशु बगाउन तम्तयार उनका आँखामा मेरा लागि सपना थिए। मेरी आमाका लागि मैले जित्नुपर्छ, म बलियो निडर हुनुपर्छ निरिह र कमजोर भएर आमाको भरोसालाई अन्याय गर्नुहुँदैन, जुन मैले आज महसुस गरेकी थिएँ। त्यो कुराइमा मैले आमालाई मजाले नियाले, महिनौँसम्म आमाको न्यानोपन भागदौडमा बिर्सिएकी म त्यो दिन आमा महसुस गरेँ। हराएकी थिएँ, हडबडाएकी पनि, एकछिनको पर्खाइमा आमालाई एकोहोरो हेरेँ।
भाउजुको मोबाइलको घण्टीको आवाजले आमा ब्युँझिइन्, के भयो? पानी खान्छेस्। आमा उठेर बाहिर गइन्। र, चिसो पानी लिएर आइन्।
आमालाई मैले बुझ्नै सकिनँ, आफूले बुझ्ने भएको दिनदेखि आजसम्म आमाको प्रत्येक भावना बुझेजस्तो मात्रै लाग्ने रहेछ। कहिलेकाहीँ सोच्छु, आमाको मन केले बनेको होला? कसरी लुकाएकी रहिछन्, उनले आफ्ना पीडाहरू? सोचेरै भ्याउन सक्दिनँ। आमाकै छोरी म भने आमाजस्तै किन हुन सकिनँ, चुकचुकाउँछु। लाग्थ्यो, आमाको ओतले, आमाको छायाले म पनि आमाजस्तै छु। तर, होइन रहेछ, आमा मभन्दा निकै फरक रहिछन्। आमासँग कस्तो शक्ति थियो, जसले मेरा हरेक मौनतालाई यसै चिन्दछिन्, यसै बुझ्दछिन्, उसैगरी मैले आमाको मौनतालाई बुझ्नै सकिनँ, अझ भनौ मैले ठम्याउनै सक्दिनँ। आमाका हरेक भोगाइलाई मैले महसुससम्म गर्ने हिम्मत राख्दिनँ, आखिर आमा यति मजबुत कसरी हुन सक्छिन्?
‘ला पानी खा !’ आमाको आवाज सुनेँ, टोलाएकी रहेछु। आमाले पानीको बोतल मेरो हातमा थमाइन्। आमाले मलाई नमसारेको महिनौँ भएको थियो। आमाबिना सुत्न नसक्ने म त्यो एक महिना आमानजिकै भए पनि म आमासँग थिइनँ। हराएकी थिएँ कतै। मास्क खोलेर बोतलको पानी पिउँदै थिएँ। ‘हेर अनुहार, रूपरंग नै उडिसक्यो। अलि पानी खा, जुस खान्छेस्?’ बोलिन् आमा।
आँखाले इसारा गरेर खादिनँ भने। आमाले पकाएको दालभातको स्वाद यो जिब्रोबाट हराएको महिनौँ भएको थियो, आमाको स्पर्शबाट टाढिएजस्तै। ‘कस्तो उखरमाउलो गर्मी हो, कति ट्याम लाउने हो आउन,’ निधारको पसिना पुछ्दै भाउजू बोल्नुभयो। मैले पानीको बोतल भाउजूलाई दिएँ।
‘तपाईंहरू नै हो मलाई भेट्न आउनुभएको? हेर्नु न आज कुशेऔँशी ! बुवाको मुख हेर्ने कार्यक्रमले एकछिन ढिला भइहालेँ।’ यति बोल्दै गर्दा उनको श्वास फुलिएको थियो। ल आउनु भित्रै, उतै बसेर कुरा गरौँ।
उनी कार्यालयभित्र पसिन्, हामी उनको पछि लाग्यौँ।
सानो कोठा, मिलाएर राखिएका किताब अनि फाइलहरू। कालो कुर्सीमा नीलो गम्छा राखिएको थियो। टेबलमा केही फाइल, पेन र उनका भिजिटिङ कार्डहरू छिरल्लिएका थिए। काठको नेमप्लेटमा लेखिएको थियो, ‘अधिवक्ता नैना सिंह’।
टेबलमा यत्रतत्र रहेका भिजिटिङ कार्ड, डायरी, किताब र फाइल मिलाउँदै उनले प्रश्न गरिन्, ‘यहाँहरूको समस्या के हो? मैले के सहयोग गर्न सक्छु?’
बोल्नुपर्ने मैले थियो तर मेरो आवाज दबियो, म बोल्न सकिनँ।
‘मुद्दा हाल्न आएको नानी,’ आमा बोलिन्।
आमालाई थाहा भयो, म बोल्न सकिनँ भन्ने। र त, मेरा हातमा आफ्ना हात राखेर अधिवक्ताको प्रश्नको जवाफ दिइन्। आमाको स्पर्शले मलाई आँट दियो, साहस अनि सान्त्वना पनि।
मैले मेरो हातमा बोकेको फाइल दिएँ अधिवक्ता नैनालाई। उनले डब्बाबाट चस्मा झिकेर लगाइन् अनि फाइल पल्टाइन्। फाइलमा सबैभन्दा माथि निवेदन राखेकी थिएँ। उनी निवेदन पढ्न एकछिन घोत्लिइन्।
मिति- २०७६-०५-१३
श्री कार्यालय प्रमुख ज्यु,
विषय : कारवाही गरी न्याय दिलाइपाऊँ।
निवेदक,
लतिका
‘ए, हिंसाको मुद्दा पो रहेछ। भएको के हो मलाई अझ प्रष्ट भन्नुहुन्छ?’ नैनाको प्रश्न नसकिँदै आमा बोल्न खोज्दै थिइन्, मैले उनको हात समातेँ, अनि बोले।
‘खासमा मैले मेरो बाउलाई मुद्दा हाल्न आएको हो। उसले मेरी आमालाई मात्र दुःख दिएन, म, मेरा दाजु र बहिनीहरूलाई समेत दुःख दिएको छ। यो पहिलोपटक होइन, कैयौँपटक उसको हिंसा र अपमान सहेर पनि केही बोलेकी थिइनँ म तर अब चुप बस्दिनँ। सानो हुँदासम्म आमालाई गरेको हिंसाको बारेमा मलाई थाहा थिएन, अहिले आमालाई मात्र नभएर ममाथि, मेरो चरित्रमाथि नै नचाहिने अपशब्द बोल्ने त्यसको हिम्मत?’ रन्थनिएकी रहेछुँ म।
‘बाउ भएर मात्र हुँदैन रहेछ बाउले आफ्ना सन्तानप्रतिको दायित्व अनि जिम्मेवारी पनि पूरा गर्न आत्मबोध गर्नुपर्छ तर मेरो केस निकै भिन्न छ। हजुर भर्खरै बुवाको मुख हेरेर आउनुभयो, तर म मेरो बाउको मुख हेर्न नपरोस् भनी तपाईं भएको ठाउँमा आइपुगेँ। यो संयोग मात्र होइन, यथार्थ हो।’ म एकोहोरो बोलिरहेकी थिएँ। कार्यालयमा सन्नाटा छाएको थियो। सबैजनाका आँखाले मलाई हेरिरहेका थिए, बस् आमा निहुरेकी थिइन्।
‘योपटक त अति भएर मुद्दा हाल्न आएँ, मैले हजुरको बारेमा एकजना दिदीबाट थाहा पाएर हजुरलाई भेट्न आएँ। ल अब भन्नूस्, मैले न्याय कसरी पाउन सक्छु?’ उनलाई प्रश्न गरेँ।
प्रश्न गर्दा मेरो आक्रोससँगै मेरो अनुरोध पनि पोखिएको थियो, केही शब्दमा केही आँशुको माध्यमबाट। प्रश्न गर्दैगर्दा आमाले मलाई एकटकले हेरेकी रहिछन्। कुरा सकिएपछि उनका आँखासँग मेरा आँखा केही पललाई जुधे। त्यो पलको हेराई मेरा लागि आमाको हौसला र स्याबासी थियो। मेरी छोरी बुझ्ने भएकी रहेछ भन्ने गौरव ती आँखामा देखेँ। आमाले आँखाका डिलबाट आँशु बगाइन् तर उनी मन्द मुस्काइन्।
‘मेरो बाउ जसले मलाई म उसको छोरी हुँ भन्ने कुनै आभास गराएको छैन, मेरी आमाले जति दुःख गरिन् र हामी दुई बहिनी र दुई दाजुलाई हुर्काइन्। अहिले आएर उसले बाउको ठाउँ नराखी सधैँ हामीलाई पिरोल्न पाउँदैन। मेरी आमाको जस्तो सहनशीलता ममा छैन, फिटिक्कै छैन। उसको विरुद्ध मुद्दा हाल्न आएकी छु, मैले न्याय पाउनुपर्यो। ल यो प्रमाण सुन्नुहोस् उसले छोरीलाई बोल्ने भाषा कसले सहनसक्छ? के बाउले आफूले जन्माएको सन्तानका लागि यस्तो शब्द बोल्न सक्छ? यी शब्द बोल्दा उसका ओठहरू किन कामेनन्, किन उसको मनमा अलिकति पनि पीडा, अलिकति पनि दया आएन्?’ बोल्न रोकिनँ आफूलाई, पोखिँदै गएँ। सायद मैले नैनामा केही आश देखेकी थिएँ, महसुस गरेकी थिएँ।
‘त्यो मेरो बाउ नै होइन, होला उसको विर्यको केही अंश ममा होला तर मेरी आमा नै मेरो बाउ, मेरो संसार हुन्। त्यसले दिएको थर मैले लेख्न छोडिसकेँ, दिएको नि के भन्नु समाजले टाँसिदिएको जबर्जस्ती। उसले बोलेका हरेक शब्दहरू मसँग सुरक्षित छन्,’ हातको मोबाइलको रेकर्ड नैनालाई सुनाएँ, उनी लामो श्वास तान्दै मेरा कुरा सुन्दै थिइन्।
उनका लागि बुवाको मुख हेर्ने दिन प्रिय थियो होला तर मेरा लागि बाउलाई मुद्दा हाल्ने दिन नै बुवाको मुख हेर्ने दिन पर्यो।
‘ए कुरो त्यस्तो हो, ठीक छ कानूनी कारवाहीका लागि प्रक्रियाअनुरूप जाऊँ’ लामो श्वास तान्दै नैनाले आफ्नो चस्मा झिकिन्, आँखाका कुना पुछिन् र भनिन््, ‘म हजुरको मुद्दा दर्ताको प्रक्रिया सुरु गर्छु, आज हजुरको नागरिकता र फोन नम्बर छोडेर जानु। केही रकम पनि जम्मा गर्नुपर्छ प्रक्रियाका लागि, मैले लिनुपर्ने पारिश्रमिक भने म लिन्नँ। आज शुक्रबार भइहाल्यो, भोलि शनिबार, हजुरहरू पर्सि आइतबार खाना खाएर ११ बजे आइपुग्नु ल। चिन्ता नलिनु सबै ठीक हुन्छ।’ आइतबारको भाका राखेर हामी नैनाको कार्यालयबाट बाहिरियौँ।
मन हल्का भएको महसुस गरेँ, साँच्चै आकाश कति खुलेको रहेछ, दिन घमाइलो रहेछ। मलाई एक महिनामा त्यो दिन थाहा भयो। आमाको हात सामाएर एकछिन अँगालो हालेँ। लाग्यो अब म कमजोर छैन, मनको भारी बिसाएर म तंग्रिसकेँ, मेरी आमाका लागि भए पनि मैले त्योसँग लड्नैपर्छ। म अताल्लिएर आमालाई कमजोर कहिल्यै बनाउने छैन। ललितपुर जिल्ला अदालतबाट निस्किँदा म फेरिएकी थिएँ, पूर्ण रूपमा। ममा केही त बदलाव आएको छ, जुन म पहिला थिइनँ। ललितपुरबाट साझा बसमा चढ्दा मैले आफू बस्ने स्थानमा आएको पत्तै पाइनँ। मेरो अनुहारको बदलावले आमाका आँखा रसाएका थिए तर अनुहारमा छुट्टै चमक थियो। जितको चमक, ढाडसको चमक। आमालाई त्यसले दिएको यातना, पीडा अनि दुःखको एक-एक हिसाब गर्न म तयार थिएँ।
आइतबार नैनासँगको बसाइपछि उनले मलाई अर्को महिनाको तारिखमा बोलाइन्। म बाउविरुद्ध मुद्दा लड्दैछु। बहस हुँदैछ। हो, कुशे औँशीको दिन मलाई केही खास लाग्दैन, यसर्थमा मेरो बाउ दानवरूपी भयो भनेर अथवा मैले बाउको प्रेम, सान्त्वना, स्नेह अनि आडभरोसा नपाएर हुन सक्छ, मेरा लागि बुवा र आमा दुवै मेरी आमा हुन्। हो, सबैका बुवा उनका सन्तानका लागि हिरो वा मार्गदर्शक हुँदैनन्, कसैका दानव अनि कलंक पनि हुन्छन्।
सबैका बुवा साथी हुँदैनन् कोही सन्तान मजस्तै हुन्छन्, जसले बुवाबाट साथ र सहयोगको बदलामा पीडा र तनाव पाएका छन्। ती सन्तानहरू भाग्यमानी छन्, जसले बुवाको नाममा साथी पाएका छन्, आड र भरोसा पाएका छन्। तर, जसका बुवा, अभिभावक, सहयोगी सबै आमा हुन्छन्, ती महान अनि भाग्य निर्माता हुन्छन्। जसलाई कसैले भाग्यमानी बनाइदिइराख्नु पर्दैन, आफ्नो कर्मले आफैँ भाग्य कोर्छन्।
मेरा लागि बुवाको मुख हेर्नेभन्दा बुवाको मुख कहिल्यै हेर्नै नपरे हुन्थ्यो भन्ने लाग्छ। म त्यही दिनको पर्खाइमा छु, मैले भोगेको हिंसाको न्यायका दिन तारिखका दिन देख्न परे पनि त्यसपछि भने कहिले नभेटुँ कहिल्यै नदेखुँ। घर बिगार्ने र परिवार तहसनहस गर्ने मेरा बाउको मुख म कहिले स्वीकार्न सक्दिनँ, हेर्न चाहन्नँ। कोशिस नगरेको होइन तर बाउ पनि दुष्ट हुने रहेछन्। सबैका त्यस्ता छैनन् तर मेरा भए।
शुष्मा बराली
प्रकाशित मिति: १८:५० बजे, मंगलबार, भदौ २२, २०७८
साभार: kathmandupress.com