सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजारकी मुना श्रेष्ठको सुनकोशी नदीले गासँबासँ र कपासँ लग्यो । हेर्दाहेदै नदीले घर बगरमा परिणत गरेको उहाँ गुनासो गर्नुहुन्छ । “दश मिनेटसम्म नदीको बाढी बस्तिमा आउँदैन भन्ने लागेको थियो । एक्कासी बाढी माथि बस्तीमा आयो, घरबाट केहि निकाल्न सकिएन । आफ्नो ज्यान मात्रै जोगाउन सफल भए ।” उहाँले भन्नुभयो । नदी माथि आउनै लाग्दा उहाँले घरबाट केहि महत्वपूर्ण काजपत्र साथै खाद्यन्न लगाएतको सामान निकाल्नका लागि हारगुवार गर्नुभयो । तर उहाँले घरबाट केहि निकाल्न सक्नुभएन । उहाँ भन्नुहुन्छ, “प्रहरीसँग रुदै कराउँदै सहयोग मागे, नजिक घर भएका सबै घर छोडेर भागि सकेका थिए । अन्त्यमा मैले पनि सबै छोडेर भागे । आफ्नो ज्यान मात्रै जोगाए ।”
खुर्कोटका झण्डै दुइ सय बढी सुरक्षित स्थानमा छन् । “सुक्रबार रात नै नदीमा पानीको बहाव बढेको थियो तर स्थानिय कसैले थाहा पाएनन् ।” खुर्कोट बजारका एक स्थानियले भने, “रातको समयमा म आफै सबैको घरको ढोका ढक्कढकाउन पुगेको थिए । नदीमा पानीको बहाव बढ्यो भन्दै । पहिले नै जानकारी पाएको भए सबैले घरबाट आफ्नो सामान निकाल्न सक्ने थिए । विहान एक्कासी बाढी आएपछि सबैले भागेर आफ्नो ज्यान मात्रै जोगाए ।”
१५ मिनेट अगाडि सम्म आफु बसेको स्थान सुरक्षित रहेको महसुस गर्नुभएको सुनकोशी गाउँपालिका ५ मुल्कोट बजारका कृष्ण हरि श्रेष्ठ एक्कासी सुनकोशी नदी बस्तिमा आएको बताउनुुहुन्छ, “१५ मिनेट अगाडि सम्म नदी तलनै थियो । नदी बजार सम्म आउँछ भन्ने लागेको थिएन । एक्कासी नदी माथि आयो, घरहरु सबै ढुवाउन थाल्यो त्यस पछि हामी पनि भाग्यौँ ।” शनिबार विहान बाढी बस्तिमा पसेको थियो । बाढीले मानविय क्षेती नभएपनि भौतिक क्षेती धेरै भएको उहाँ बताउनुहुन्छ । “मानवीय क्षेती भने भएन । बाढी विहान आएकाले सबै भागेर ज्यान जोगाउन सफल भए । यही बाढी रातको समयमा भएको भए धेरै मानवीय क्षेती हुने थियो होला ।” उहाँले भन्नुभयो ।
सुनकोशी नदीमा आएको बाढीले खुर्कोट र मुल्कोट बजार नै बगरमा परिणत गरेको छ । सुनकोशी नदीमा आएको बाढीले मुल्कोट र खुर्कोटका दुइ सय बढी घर ढुवानमा परेको अनुमान गरिएको छ । खुर्कोट बजारका एक सय बढी घर र मुल्कोट बजारका एक सय घर ढुवानमा परेका हुन् ।
सुनकोशी र रामेछापको खाँडादेवी जोड्ने झोेलुंगे पुल बाढीले बगाएको छ । सुनकोशी नदीको बाढीले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पक्कि पुल बगाएको हो । गोलन्जोर गाउँपालिका स्थित खुर्कोटबाट रामेछापको मन्थली जोड्ने पक्की पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ ।
विपि राजमार्ग अवरुद्ध
बाढीले पक्की सडक नै बगाएपछि विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपाल थोक नजिक रोशी खोलाले विपी राजमार्ग भत्काएर क्षति पुर्याएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । उक्त स्थानमा झण्डै ५० मिटर सडक रोशीको बाढीले पूर्ण रुपमा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । सडक डाइभर्सन नबनाएसम्म कुनैपनि सवारी साधन आवतजावत गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । विपी राजमार्गको नेपालथोक, आँपघारी, भ्याकेरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौं स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षति पु र्याएको छ । यी स्थानमा सडक डाइभर्सन गर्न पनि केही दिन लाग्ने छ ।