सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा नेपाली हाइब्रिड मकैको बीउ उत्पादनको परीक्षण सुरु गरिएको छ। जिल्लामै पहिलोपटक सो गाउँपालिकामा हाइब्रिड मकैको बीउ उत्पादनका लागि यो परीक्षण सुरू गरिएको हो।
बीउविजन गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाले आइतबार गाउँपालिकाको एक हेक्टर जमिनमा हाइब्रिड मकैको बीउ रोपेको छ। केन्द्रका प्रमुख राजन ढकालको उपस्थितिमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा. महेन्द्रप्रसाद त्रिपाठी, वैज्ञानिक मनोज कँडेल र बाली विकास अधिकारी सिर्मला योन्जनसहितको विज्ञ टोलीले बीउ रोपेको हो।
परीक्षणका लागि रोपिएको मकैको बीउ आरएमल–१८ नामको भाले जातको मकै हो भने तीन दिनमा आरएमल–१५० नामको पोथी जातको मकै पनि रोपिनेछ। यसले भाले र पोथी जातको क्रसिङबाट हाइब्रिड मकै उत्पादन हुने छ, जसबाट आगामी सिजनमा उच्च उत्पादनको अपेक्षा गरिएको छ।
केन्द्रका प्रमुख ढकालका अनुसार, भाले र पोथी मकैको बीउलाई एउटै समयमा रोपेर हाइब्रिड उत्पादन गर्ने प्रक्रिया सुरू गरिएको हो। “यो ठाउँ हाइब्रिड मकै उत्पादनका लागि उपयुक्त देखिन्छ,” उनले भने।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले, “यो परीक्षण सकारात्मक भएको छ र सफल भएमा पालिकालाई मकै उत्पादनमा आत्मनिर्भर बनाउँदै आर्थिक उन्नति गर्ने अवसर मिल्नेछ,” बताएका छन्।
साथै, अन्य अन्नबाली उत्पादनका लागि पनि यस्ता प्रयोगहरू अघि बढाउने तयारी गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले यस्ता कार्यका लागि आवश्यक सामग्रीको व्यवस्था गरिने जानकारी दिए।
यो पहलको सफलतासँगै आगामी वर्षदेखि हाइब्रिड मकैको बीउ गाउँपालिकाका सम्पूर्ण कृषकलाई उपलब्ध गराउने योजना बनाइएको छ।