नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् ।
महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो ।
कार्यक्रममा खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्यो। कार्यक्रममा भाटभटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टि टेनका हेड अफ बिजनेस डेभलपमेन्ट आलोकजंग जोशी र उषाबीच त्रिपक्षीय सम्झौता भयो ।
भाटभटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रूपैयाँ दिने छ । उनले हरेक महिना ८३ हजार ३ सय ३३ रूपैयाँ प्राप्त गर्ने भाटभटेनीले जनाएको छ । टि टेनले भने ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
भाटभटेनी सुपर मार्केटका डाइरेक्टर गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए ।