जुनै पनि काम सुरू गर्न अठोट, धैर्य, मेहनत, अनुसन्धान र लगानी चाहिन्छ — डाक्टर प्रतिभा पाण्डेले यही भनाइमा विश्वास राखेर नयाँ काम सुरू गरिन्।
रसायनशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेकी प्रतिभाले चार वर्ष अनुसन्धान गरेर ‘हर्वेदा बोटानिकल्स’ कम्पनी खोलेकी छन्।
यो कम्पनीले छाला र कपाल स्याहारका सामान बनाउँछ। क्रिम, स्क्रब, सिरम, स्याम्पू, कन्डिस्नर, लिपबाम लगायत ६० वटा उत्पादन बजारमा पुर्याइरहेको छ। उत्पादनहरूको मूल्य चार सय ५० देखि दुई हजार दुई सय ५० रूपैयाँसम्म पर्छ।
‘हर्वेदाका उत्पादन जडिबुटीबाट बन्ने भएकाले तुलनात्मक रूपमा महँगो पर्छ,’ प्रतिभाले भनिन्।
सबै उत्पादन महिला र पुरूष दुवैका लागि उपयुक्त भएको प्रतिभा बताउँछिन्।
कम्पनीले ललितपुरको झम्सिखेल चोकमा हर्वेदा बोटानिकल कन्सेप्ट स्टोर खोलेको छ। यसका सामान अनलाइन बजार दराजमा पनि किन्न पाइन्छ। कम्पनीको सामाजिक सञ्जालबाट पनि अर्डर गर्न सकिन्छ।
प्रतिभाले हर्वेदाका सामान बजार पठाउन थालेको पाँच वर्ष हुन लाग्यो।
‘तर थोरै समयमै ग्राहकबाट राम्रो प्रतिक्रिया पाएकी छु,’ उनले भनिन्।
काठमाडौंकी स्थायी बासिन्दा प्रतिभा परिवारकी कान्छी सदस्य हुन्। सानैदेखि उनलाई विज्ञान विषयमा रूचि थियो। १२ कक्षा सकेपछि उनी थप पढाइका लागि सन् २००५ मा अमेरिका गइन्। नर्थ क्यारोलिनाको सेलम कलेजमा रसायन विज्ञान र गणित विषय पढिन्।
उनको कलेजमा प्रत्येक वर्ष तीन महिना गर्मीबिदा हुन्थ्यो। अरू साथीहरू पैसा कमाउन काम गर्थे, उनी पढाइमा मेहनत गर्थिन्।
‘यसकै परिणाम, मैले पहिलो वर्षमै नर्थ क्यारोलिना स्टेट छात्रवृत्ति पाएँ,’ उनले भनिन्।
त्यो छात्रवृत्ति बायोटेक सम्बन्धी अनुसन्धानका लागि थियो। छात्रवृत्तिको रकम राम्रो भएकाले उनलाई पढाइमा सजिलो भयो।
‘मैले एक वर्ष व्यवस्थापनको कोर्स पनि गरेँ। माथिल्लो सेमेस्टरको कोर्स अगाडि नै पूरा गरेर चार वर्षको पढाइ तीन वर्षमै सकेँ,’ प्रतिभाले भनिन्।
सन् २०१३ मा उनले नर्थ वेस्टर्न युनिभर्सिटीबाट पूर्ण छात्रवृत्तिमा औषधिसम्बन्धी अनुसन्धानमा पिएचडी पूरा गरिन्।
त्यसपछि उनको चाहना स्वदेश फर्किने थियो। तर त्यतिन्जेल उनले पढेकी मात्र थिइन्, कामको केही अनुभव थिएन। त्यसैले केही वर्ष अमेरिकामै काम गरेर अनुभव लिने सोचिन्। अनि क्याबट माइक्रो इलेक्ट्राेनिक्स नामक कम्पनीमा काम सुरू गरिन्।
‘त्यहाँ उनले माेबाइलमा प्रयोग हुने चिपलाई छिटाे र गुणस्तर बनाउनबारे अनुसन्धान गर्नुपर्थ्यो,’ उनले भनिन्।
उक्त अनुसन्धानबाट उनले तीनवटा प्याटेन्ट प्राप्त गरिन्।
प्रतिभाले त्यहाँ काम गरेको दुई वर्ष भएको थियो, सन् २०१५ मा नेपालमा भुइँचालो आयो। भुइँचालोलाई उनले नेपाल फर्किने बहाना बनाइन्। केहीमा अल्झिनन्।
‘म सधैं नै पढाइ पूरा भएपछि फर्किने अठोटमा थिएँ। यो कुरामा कहिल्यै दोधार भएन,’ उनले भनिन्।
स्वदेश फर्किने भएपछि उनले अमेरिकाको जागिर छाड्नुपर्थ्यो। उनले कम्पनीमा अनुमति मागिन्। उनको लगनशीलता र मेहनत देखेर कम्पनी सुरूमा मान्दै मानेन। प्रतिभाले पनि आफ्नो ढिपी छाडिनन्।
पछि कम्पनीले नेपालमा शाखा खोल्न वा कम्पनीको शाखा भएका जुनसुकै देशमा बसेर काम गर्न सुझाव दियो। त्यसैअनुसार सिंगापुरपा पार्ट-टाइम काम गर्ने गरी उनी नेपाल फर्किन्।
प्रतिभाका अनुसार उनी महिनामा दस दिन सिंगापुरमा काम गर्थिन्, बाँकी समय नेपालमै बिताउँथिन्।
नेपालमा हुँदा उनी अनेक ठाउँ घुम्थिन्।
‘पहिले त खासै घुम्दिनँ थिएँ। अलि टाढा गयो कि घरको याद आउँथ्यो,’ उनले भनिन्, ‘अमेरिकाबाट फर्केपछि श्रीमानसँग विभिन्न ठाउँ घुम्न गएँ। बिस्तारै एक्लै पनि घुम्न थालेँ।’
एक दिनको कुरा हो। एक संस्थामार्फत प्रतिभाले सरकारी निकाय व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले अनुसन्धानका लागि विज्ञ मागेको थाहा पाइन्। उनले आवेदन गरिन्, छनोट पनि भइन्। त्यहाँ रहेर उनले मुस्ताङ, म्याग्दी र मुगुमा उत्पादन हुने जडिबुटीमा मूल्य अभिवृद्धि गर्ने विषयमा अनुसन्धान गर्नु थियो। करिब तीन महिनामा काम पूरा भयो।
‘त्यति बेला मेरो सानो बच्चा थियो। बच्चा हेर्ने मान्छे पनि साथै लिएर लिएर अनुसन्धानमा गएकी थिएँ,’ उनले भनिन्।
त्यही अनुसन्धानका सिलसिलामा उनको जडिबुटी उत्पादक केही किसानसँग चिनजान भयो। एक जना किसानले एक दिन फोन गरेर सुगन्धित तेल राख्ने भाँडो किन्न सहयोग मागे। उनले सहयोग गरिन्।
ती किसान सुगन्धित तेल बेच्न काठमाडौं आएका रहेछन्। प्रतिभाले तेल उत्पादनको लागत, बजार मूल्य र लाभबारे उनीसँग छलफल गरिन्। कुरा हुँदै जाँदा किसानले पाउने र उपभोक्ता मूल्यमा ठूलो भिन्नता रहेको थाहा पाइन्। लामो छलफलपछि प्रतिभाले आफै सुगन्धित तेल उत्पादनमा लाग्ने सोचिन्।
‘किसानले नाफाको १० प्रतिशत पनि नपाउने रहेछन्,’ उनले भनिन्, ‘हामीले अनुसन्धान गरेर मात्र हुँदैन, किसानलाई सहयोग पुग्ने गरी सामान उत्पादन गर्नुपर्छ भन्ने लाग्यो।’
उनी इन्स्टिच्युट फर बायो-साइन्स एन्ड बायो-टेक्नोलोजी (रिब) नामको संस्थामा गएर अनुसन्धान गर्न थालिन्। प्रतिभाका अनुसार रिब अनुसन्धान प्रयोगशाला चलाउने संस्था हो। यहाँ अनुसन्धान गरेबापत अनुसन्धानकर्ताले स्वइच्छाले शुल्क तिर्छन्।
किसानसँग जडिबुटी मगाएर रिबमा उनको अनुसन्धान सुरू भयो। अनुसन्धान गर्दै जाँदा उनले छाला स्याहारका सामान उत्पादन गर्ने निधो गरिन्।
‘सबै प्रबन्ध मिलाएपछि सन् २०१७ मा अमेरिकाको जागिर छाडेँ,’ उनले भनिन्, ‘आयुर्वेद सम्बन्धी किताबहरू पढ्न थालेँ।’
केही समयपछि उनले ‘हर्वेदा बोटानिकल्स’ नामको कम्पनी दर्ता गराइन्। चीन र भारतबाट मेसिन मगाइन्। काठमाडौंको कपनमा केही जग्गा भाडा लिइन् र सबै सामान जुटाएर उत्पादन थालिन्।
सन् २०१९ सेप्टेम्बरसम्म स्क्रब, टोनर र भिटामिन सी सिरम गरी तीन उत्पादन तयार भयो। त्यो समय अनलाइन व्यापार फैलिएकै थिएन। आफै पसल खोल्न पनि सहज थिएन। अन्ततः उनले नेपाली उत्पादन बेच्ने एउटा पसलमा थोरै ठाउँ भाडामा लिएर आफ्ना उत्पादन राखिन्। काम सघाउन एकजना सहयोगी नियुक्त गरिन्।
प्रतिभाको काम सन्तोषजनक भइरहेको थियो। तर ६ महिना हुँदै कोभिड महामारी आयो। यसपछि अनलाइन व्यापार पनि उदायो। प्रतिभाले प्रचारप्रसारका लागि फेसबुक र इन्स्टाग्राममा भिडिओ बनाएर राखिन्।
‘कोभिडमा आयात बन्द भएपछि हाम्रो उत्पादनले बजार पायो। त्यति बेला जोडिएकामध्ये ९० प्रतिशत ग्राहकले हाम्रै उत्पादनलाई निरन्तरता दिएका छन्,’ उनले भनिन्।
प्रतिभाले काेभिडअघि एउटा अनुसन्धानका लागि युनेस्को अन्तर्गतको ओडब्लुएसडी भन्ने संस्थामा फेलोसीपका लागि आवेदन दिएकी थिइन्। उनले ५० हजार अमेरिकी डलरकाे फेलाेसीप पाइन्। त्यसमा उनले सुन्तला र कागतीको बोक्राबाट छाला स्याहारका सामान र खाने क्याप्सुल बनाउने अनुसन्धान गर्नुपर्थ्यो। अनुदानको १० प्रतिशत रकम उत्पादनमा खर्च गर्ने सर्त थियो।
त्यो अनुसन्धानले उनलाई ठूलो मद्दत पुग्यो। अनुसन्धानकाे आधारमा ६ महिनाकाे अवधिमा दिउँसो लगाउने डे-क्रिम, रातमा लगाउने नाइट-क्रिम, आँखामुनि लगाउने अन्डर आइक्रिम, कपालमा लगाउने तेलसहितको स्याम्पू, कन्डिस्नर, साबुन र सुगन्धित तेल उत्पादन अघि बढाइन्।
प्रतिभाले मेहेनतकाे कदर स्वरुप उत्कृष्ट सार्क महिला उद्मी स्वर्ण अवार्ड, २०२२ पनि पाइन्।
यसरी प्रतिभाले सुरू गरेको हर्वेदाले आगामी दिनमा क्याप्सुल पनि उत्पादन गर्ने योजना बनाएको छ।
‘परीक्षणको समय सकियो। अब उत्पादन र व्यापार बढाउनेतिर लाग्ने हो,’ उनले भनिन्।
प्रतिभा उत्पादन निर्यात गर्ने तयारीमा छिन्। पहिलो चरणमा अमेरिका निर्यात गर्न अनुमति लिएको उनले बताइन्।
यसबाहेक कम्पनीले छम्पीमा १७ रोपनी जग्गा भाडामा लिएर जडिबुटी उत्पादन गरिरहेको छ। सयपत्री, बेसार, अदुवा, अर्किड लगायत रोप्न सुरू भएको छ।
‘हालसम्म कम्पनीमा एक करोड रूपैयाँ लगानी भएको छ,’ प्रतिभाले भनिन्, ‘अब उत्पादन बढाउन थप लगानी गर्नुपर्छ। लगानीकर्ता भित्र्याउने सोचमा छु।’
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी