गुगल र एप्पलले हारे इयुसँगको अर्बौं डलरको मुद्दा

adminSeptember 12, 20241min690
google-and-apple-1725969382

युरोपियन युनियन (इयु) ले प्रविधि उद्योगसँगको लडाइँमा मंगलबार ठूलो सफलता हासिल गरेको छ।

इयुको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) ले एप्पल र गुगलसँगको पुरानो मुद्दामा आदेश दिएसँगै इयुले ठूलो सफलता हात पारेको हो।

प्रतिस्पर्धालाई खुम्च्याएको भन्दै इयुको नियामक निकायले लामो समयदेखि एप्पल र गुगलमाथि कारबाही गर्दै आएको थियो।

मंगलबार कोर्ट अफ जस्टिसले गरेको एप्पल सम्बन्धी आदेश इयुले सन् २०१६ मा सो कम्पनीलाई आयरल्याण्ड सरकारलाई १३ अर्ब युरो (आजको मूल्यमा करिब १४.४ अर्ब डलर) कर तिर्न दिएको आदेशसँग सम्बन्धित छ।

एप्पल र आयरल्याण्ड सरकारबीचको गैरकानुनी सहमतिले करमा भारी छुट दिएर युरोपमा व्यवसाय गर्न दिएको आरोप थियो। यसरी गैरकानुनी काम गरेको भन्दै इयुले आयरल्याण्ड सरकारलाई सो रकम तिर्न एप्पललाई आदेश दिएको थियो। प्रति १० लाख युरोको नाफामा एप्पलले ५० युरोमात्रै कर तिरेको दाबी गर्दै इयुले त्यस्तो आदेश दिएको थियो।

एप्पलले अमेरिकामा कर तिरेकाले आयरल्याण्डलाई पनि कर तिर्नु नपर्ने जिकिर गरेको थियो। इयुको जेनेरल कोर्टमा पुनरावेदन गरेपछि सन् २०२० मा कम्पनीको पक्षमा फैसला गरेको थियो। तर युरोपियन कमिसनले जेनेरल कोर्टको फैसलाविरूद्ध कोर्ट अफ जस्टिसमा आवेदन दिएको थियो। सो आवेदनमा कोर्ट अफ जस्टिसले मंगलबार फैसला गर्दै एप्पलले आयरल्याण्डलाई सो रकम तिर्न आदेश दिएको हो।

एप्पलले कोर्ट अफ जस्टिसमा मुद्दा चलिन्जेलका लागि १३ अर्ब युरो ‘एस्क्रो’ खातामा राखेको थियो। आयरल्याण्डले एप्पलसँग कर छुट सम्झौता गरेको र यो मुद्दामा कम्पनीकै साथ दिए पनि अब एस्क्रो खाताबाट आयरल्याण्डले सो रकम पाउनेछ।

सन् २०१७ मा कुनै सामानको मूल्यबारे खोजी गर्दा आफ्नो अनलाइन सपिङ सेवाको नतिजालाई प्राथमिकतामा राखेको र प्रतिस्पर्धी नबनाएको भन्दै इयुले गुगलविरूद्ध जरिवाना गर्ने निर्णय गरेको थियो। त्यतिबेला गुगललाई २.४ अर्ब युरो (करिब २.६५ अर्ब डलर) जरिवाना गरेको थियो।

 

कोर्ट अफ जस्टिसले मंगलबार यसैसँग सम्बन्धित मुद्दामा फैसला गरेको हो।

गुगलले भने इयुको जेनेरल कोर्टमा गरेको पुनरावेदन मुद्दा सन् २०२१ मा हारेको थियो। तर उसले फेरि कोर्ट अफ जस्टिसमा जेनेरल कोर्टले गरेको फैसलाविरूद्ध आवेदन दिएको थियो। कोर्ट अफ जस्टिसले मंगलबार जेनेरल कोर्टले गरेको फैसलालाई सदर गर्दै गुगलले सो जरिवाना तिर्नु पर्ने बताएको छ।

गुगलले सन् २०१७ को आदेशपछि आफ्नो अलगोरिदममा परिवर्तन गरेर प्रतिस्पर्धी मूल्य तुलना गर्ने वेबसाइटहरूको पनि नतिजा देखाउन थालेको बताउँदै आएको छ। तर अझै पनि गुगलले आफ्नो सेवालाई फाइदा पुर्‍यााउँदै आएको भनेर प्रतिस्पर्धीहरूले आरोप लगाउँदै आएका छन्।

आजको फैसलाले प्रविधि कम्पनीहरूसँगको लामो लडाइँमा इयुलाई महत्वपूर्ण सफलता हासिल भएको छ। अर्कोतर्फ यो फैसलाले कम्पनीहरूलाई आफ्ना उत्पादन र सेवाको व्यापार युरोपेली नियम अनुसार गर्न बाध्य बनाउनेछ।


हाम्रो बारे

सुनकोशी आदर्श अनलाइन मिडिया प्रा.लिद्धारा सञ्चालित
आदर्शपोष्टका लागी अधक्ष्य: प्रेम कुमार लामा
सूचना विभाग दर्ता नम्बर: २३८२/०७७/०७८


ठेगाना

सम्पर्क