
सुनकोसी गाउँपालिका वडा नं. २ को आयोजनामा सञ्चालित “युवा संग कम्प्युटर तालिम कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता वडा नं. २ का वडा अध्यक्ष जीवन बुर्जाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा सुनकोसी गाउँपालिकाको अध्यक्ष दिपा बोहरा दाहाल र विशिष्ट अतिथिको रूपमा उपाध्यक्ष कपिल कुमार कोइराला उपस्थित हुनुहुन्थ्यो। समापन समारोहमा कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू, प्रशिक्षार्थीहरू र स्थानीय वडावासीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा नं. २ का वडा सचिव रुपक श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले युवाहरूलाई प्राविधिक ज्ञान र सीप प्रदान गर्ने यस्ता कार्यक्रमले समुदायको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्तै खालका रचनात्मक र उपयोगी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, कार्यक्रमका अध्यक्ष जीवन बुर्जाले तालिमले युवाहरूको क्षमता अभिवृद्धि गरेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता पहललाई निरन्तरता दिइने बताउनुभयो। तालिममा सहभागी प्रशिक्षार्थीहरूले आफ्नो अनुभव साझा गर्दै कम्प्युटरको आधारभूत ज्ञानले आफूहरूलाई आत्मविश्वास बढाउन र दैनिक जीवनमा प्रविधिको प्रयोग गर्न सक्षम बनाएको बताए। एकजना प्रशिक्षार्थीले भने, “यो तालिमले हामीलाई डिजिटल संसारमा प्रवेश गर्ने बाटो देखाएको छ, जुन हाम्रो भविष्यका लागि निकै उपयोगी हुनेछ।” स्थानीय वडावासीहरूले पनि यो कार्यक्रमको प्रशंसा गर्दै युवाहरूलाई लक्षित यस्ता तालिमले रोजगारी र स्वरोजगारका अवसरहरू सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार, तालिमले प्रशिक्षार्थीहरूलाई कम्प्युटरको आधारभूत सीप प्रदान गर्नुका साथै उनीहरूमा प्राविधिक जागरूकता बढाएको छ। कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने आयोजक टिमप्रति सबैले धन्यवाद ज्ञापन गरेका थिए।
तस्बिरहरु: